राजन बने चेसमा नयाँ च्याम्पियन

राजन बने चेसमा नयाँ च्याम्पियन


काठमाडौं । झापाका राजन सुवेदी नेपाली चेसका नयाँ च्याम्पियन बनेका छन् ।

२४ औं नेसनल चेस च्याम्पियनसिपमा उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

नेपालका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेल जितेपछि राजनले सर्वाधिक ८ अंक बनाएर च्याम्पियन भएका हुन् ।

१९५९ रेटिङका उनले कालो गोटीबाट खेल्दै १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाल्दै ८ अंक बनाएका हुन् ।

३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिता संयोजक एवम् नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईका अनुसार यस नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडको लागि छनोट हुनेछन् ।

महिलातर्फ अन्तिम चरणको खेल बाँकी छँदै सिन्दिरा जोशीले उपाधि जितिसकेकी छन् ।

लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघद्वारा संयुक्त रूपमा लाजिम्पाटस्थित होटल ले हिमालयमा आयोजित च्याम्पियनसिप पुरुषतर्फ २४औं र महिलातर्फको नवौं संस्करणको राष्ट्रिय प्रतियोगिता हो ।