उपप्रधानमन्त्री सिंहले भने-सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य

उपप्रधानमन्त्री सिंहले भने-सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य


काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर काँग्रेसले टुलुटुलु हेर्न नसक्ने भएकोले यो गठबन्धन चाहिएको बताएका हुन् ।

नेपाली काँग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै सिंहले देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने जिम्मा पनि काँग्रेसको भएको बताए । ‘जब-जब राष्ट्रलाई संकट पर्छ, त्यतिबेला काँग्रेसले अगुवाइ गर्नु पर्छ,’ सिंहले भने, ‘राज्यलाई अगुवाइ गर्ने काँग्रेस अब आफैंभित्र पनि चुस्त र सक्रिय बन्नुपर्छ ।’ दल भित्रका गुट-उपगुट अन्त्य गर्ने र एक्लै निर्वाचनमा जाने पार्टी बनाउन पनि गुट अन्त्य चाहिएको बताए ।

लोकतन्त्रमा विधि र पद्धतिलाई प्रमुख मान्नुपर्ने उनले कार्यकर्तालाई सुझाए । ‘विधि र पद्धतिमा काँग्रेस चल्न सक्यो भने मात्र राज्य र अन्य दललाई पनि विधिको शासनबारे भन्न सकिन्छ,’ उनले भने, ‘सरकारमा पनि हामी विधि र पद्धति बसाल्ने अभियानमा छौँ ।’

समाज सुधार गर्न पनि पार्टी भित्रको लोकतन्त्र बलियो बन्नुपर्ने उनले बताए । देशभर सञ्चालित योजनाहरूलाई व्यवस्थित रूपमा पूरा गर्ने र समयमा राज्यको सम्पत्तिको सदुपयोग गर्ने काममा समेत सरकारले चासो राखेको उनको धारणा थियो । ‘बजेट बनिसकेपछि यो सरकार बनेको हो, तर भएको नीति र बजेटलाई समन्वय गर्दैछौं’ उनले भने, ‘आफ्नै नीति र कार्यक्रम सहितको बजेट ल्याउँदा राज्यलाई सही निकास दिने लक्ष्य छ ।’

बागलुङमा नगरपालिकाले सञ्चालन गरेको सहरी शासकीय सुधार परियोजनाले गरेको प्रगति विवरणले हौसिएका मन्त्री सिंहले अस्पताललाई व्यवस्थित बनाउने, मेडिकल कलेज खोल्नेजस्ता कामले रोजगार प्रवर्द्धन र नागरिकको स्वास्थ्य सुधार हुने भन्दै ती योजनामा संघीय सरकारको साथ रहने पनि बताए ।

बागलुङ नगरपालिकाले घोषणा गर्ने बालमैत्री स्थानीय शासनयुक्त स्थानीय पालिकाको घोषणा सभाका लागि सिंह बागलुङ आएका हुन् । नगरपालिकाले १४ वटै वडा घोषणा गरिसकेकोले बुधबार नगर घोषणा गर्ने तयारी गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।