भक्तपुर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुमबासी परिवारलाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरबाट पनि हट्न भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले त्यहाँ बसिरहेका परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको हो ।
कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर खाली गर्न प्रशासनले सूचना जारी गरेको हो । भूमि समस्या समाधान समितिको पत्रका आधारमा यस्तो निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणमा घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएका सात परिवार भूमिहीनको सूचीमा नपर्ने भएका छन् ।
जग्गा नभएको देखिएका १२ परिवारका हकमा भने सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ । उनीहरूले त्यसका लागि आवश्यक निस्सासमेत प्राप्त गरिसकेको प्रशासनको सूचनामा उल्लेख छ ।
प्रशासनले जग्गा नभएका परिवारलाई आफ्नो निस्सा बुझ्न र सरकारले घरभाडाबापत उपलब्ध गराउने सुविधा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया