काठमाडौँ । संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन् ।
आइतबार सिंहदरवारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसदको अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।
छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुखसँग छलफल भएको बताए ।
विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए ।
बैठकमा सभामुख घिमिरेले विचाराधीन विधेयकका बारेमा पनि जिज्ञासा राखेका थिए । पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको बताए ।
त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
उनले आगामी अधिवेशनलाई कानून निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य रहेको बताए ।
प्रतिक्रिया