सरकारकै कारण लोकतन्त्रमाथि नै खतरा : महासचिव गुरुङ

सरकारकै कारण लोकतन्त्रमाथि नै खतरा : महासचिव गुरुङ


मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारकै कारण लोकतन्त्रमाथि नै खतरा पैदा भएको बताएका छन् । आज (शनिबार) हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै गुरुङले वर्तमान सरकार लोकतन्त्रलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउनेतर्फ उद्धत रहेको आरोप लगाए ।

‘वर्तमान सरकार सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको छ । जसका कारण लोकतन्त्रमाथि क्रमशः खतरा पैदा हुँदै गइरहेको छ,’ प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा उनले भने । दुई दलीय अभ्यासतर्फ कांग्रेस–एमाले नेतृत्वको अगाडि बढेको उनले बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पनि लोकतन्त्रमाथि खतरा बढिरहेको आरोप उनले लगाए ।

‘विकास, सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र कमिसनतन्त्र हो,’ उनले भने, ‘यसका कारण मुलुकको आर्थिक अवस्था चौपट भइसकेको छ । तर, यसलाई नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गर्ने प्रक्रियाबाट सरकार अगाडि बढिरहेको छ ।’ आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले डेढ वर्षमा भ्रष्टाचारीको विरुद्धमा सुरु गरेको अभियानका कारण तर्सिएर वर्तमान सत्ता गठबन्धन निर्माण भएको पनि उनले बताए ।

‘मुलुकको स्वाधीनता रक्षा गर्ने दायित्व सरकारको हो । तर, सरकारले जुन किसिमको परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हो, त्यस प्रकारको काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘जसले गर्दा मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट पैदा भइरहेको छ ।’