नेपालमा समाजवाद ल्याउन नसके मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम

नेपालमा समाजवाद ल्याउन नसके मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम


मनोनित सदस्य गौतम काठमाडौँ, २० माघः राष्ट्रिय सभाको हिउँदे अधिवेशनको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्नुहुँदै सम्बोधन गर्नुहुँदै मनोनित सदस्य बामदेव गौतम । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिन माग गरेका छन् । राष्ट्रिय सभाको आज (आइतबार) को वैठकलाई सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए ।

गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहन्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’ गौतमले नेपाललाई १० वर्षमा युरोपियनस्तरको विकास गर्न सकिने दाबी गरेका छन् । त्यसका लागि नेपालको स्रोतले पर्याप्त रहेको र सीप मात्र बाहिरबाट ल्याए पुग्ने उनको दाबी छ ।

आज (आइतबार) बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा गौतमले नेपाललाई युरोपेली मापदण्डमा पुर्‍याउन एउटै शर्त अहिले चलिरहेको खिचडी राजनीति अन्त्य गर्नुपर्ने बताएका छन् । ‘समृद्ध समाजवाद निर्माण गर्न सकिन्छ, फेरि पनि ग्यारेन्टी पेश गर्छु । हामीले चाहने हो भने १४ सय खर्ब नेपाली रुपैयाँ छ, निकाल्न सकिन्छ, प्रयोग गर्न र समाजवाद निर्माण गर्न सकिन्छ,’ गौतमले भने, ‘१० वर्षमा नेपाल युरोपियन स्ट्यान्डरमा प्रवेश गर्न सक्छ, यसका लागि लगानी पुग्छ, प्रविधि ल्याउन सकिन्छ । देश विकासका लागि चाहिने स्रोत, साधन जुटाउन सकिन्छ । उपरोक्त अवस्थाका लागि खिचडी राजनीति अन्त्य गर्नुपर्छ ।’

खिचडी राजनीति भनेर कांग्रेस र एमाले गठबन्धनतर्फ संकेत गर्दै गौतमले नेपालको अबको गन्तव्य समृद्ध समाजवाद हुनुपर्ने धारणा राखे । ‘पुँजीवादले समाजवाद जन्माउँछ, नेपालमा पुँजीवाद आएर समृद्ध भएको छ, यहाँभन्दा अगाडि जान सक्दैन,’ गौतमले भने ।