काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैँ हेक्का राख्नुपर्ने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्ने कुरा ध्यान दिनुपर्ने बताए । काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदि उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।
‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ । यदि ठिक छैन भने तुरुन्तै छाडिदिन्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ, ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समयको मूल्यवान् हुने बताए । ‘जिन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान् छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया