काठमाडौ । माघ १४ गते विराटनगर विमानस्थल ओर्लेदेखि नै नेता कार्यकर्ता भेटमा व्यस्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक हप्तापछि काठमाडौँ फर्किएकी छन्। एक हप्ता पूर्व बसाइँमा उनले थुप्रै नेता(कार्यकर्ता, सामाजिक र प्राज्ञिक क्षेत्रका अगुवा भेटिन्। उनले पार्टी राजनीतिका क्रममा भूमिगत भएका, विद्यार्थी संगठनमा जोडिएका र हाल पार्टीमै क्रियाशील रहेका धेरैजसो नेताहरूसँग अन्तर्क्रिया गरिन्। उनलाई भेट्नेहरूको पनि ठूलै लर्को लाग्यो। भेटघाटमा नेता(कार्यकर्ताले आफ्ना समस्या मात्र सुनाएनन्, राजनीतिमा सक्रिय हुन सुझाव पनि दिए। केहीबाहेक अधिकांशले राजनीतिमा सक्रिय हुन आग्रह गरेको पूर्वराष्ट्रपति भण्डारीनिकट स्रोतले जनाएको छ। भण्डारी स्वयंले पनि आफू राजनीतिभन्दा बाहिर नभएको सन्देश प्रायस् सबैलाई दिइन्। माघ १४ गते विराटनगर आएकी भण्डारीले औपचारिक कार्यक्रमभन्दा धेरै समय भित्री भेटघाटमा बिताइन्। उनले एमालेका नेता कार्यकर्तासँग मात्रै होइन, एमालेबाटै विभाजित भएका नेकपा एकीकृत समाजवादीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूसँग पनि भेटिन्। एमालेनिकट अखिल नेपाल महिला संघका नेताहरूलाई भेटेर सुरुवात भएको उनको कोसी बसाइँ एकीकृत समाजवादीका नेता कार्यकर्तासँग भेटेर टुंग्याइन्। मोरङ र सुनसरी जिल्लाका विभिन्न ठाउँका करिब एक दर्जन कार्यक्रममा उनी सहभागी भइन्। आइतबार साँझ मात्र काठमाडौँ फर्किइन्। माघ १४ गतेदेखि २० गतेसम्म भण्डारीले अनौपचारिक रूपमा झन्डै एक हजार जतिलाई भेटेको उनीनिकटहरू बताउँछन्। विराटनगरको बिग होटेलको कोठा नम्बर २१४ मा बसेर उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट रहेका कोसी प्रदेशका नेताहरूसँग धेरै समय छलफल गरिन्। भेट्न जानेहरू अधिकांश ओलीबाट पेलानमा परेका नेताहरू बढी थिए। कतिपयले उनलाई भेट्ने इच्छा राखेर पुगेका थिए भने कतिपयसँग भण्डारीले नै भेट्ने इच्छा देखाएपछि भेटघाटको चाँजोपाँजो मिलाइएको थियो।
भण्डारीले नेकपा एसका नेता महेश रेग्मी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग गरेको भेटघाटलाई थप अर्थपूर्ण रूपमा लिइएको छ। भण्डारीले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा युवा रोजगारीको विषय सुधार गर्ने अभियानको रूपमा आफू विराटनगर आएको बताएकी थिइन्।एमालेका नेतासमेत रहेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतले भने भण्डारीको पूर्व बसाइलाई खासै वास्ता गरेनन्। तर, एमाले उपाध्यक्ष गुरु बरालसहित केही नेता(कार्यकर्ता भने अधिकांश समय भण्डारीसँगै थिए। भण्डारीको भेटघाटको यस अभियानलाई सक्रिय राजनीतिमा फर्किने गृहकार्यका रूपमा लिइएको छ। भण्डारीको सक्रियतालाई नजिकबाट नियालेका नेता तारा निरौला पूर्वराष्ट्रपतिको यो भ्रमण राजनीतिमा आउने पूर्वाभ्यास नै ठान्छन्। ‘कुराकानीमा उहाँ राजनीतिमा आउनको लागि केही सुझावहरू लिएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘जुन परिकल्पनाबाट सङ्घीयता आएको थियो, त्यसअनुसार देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रूपमा परिवर्तन आउन नसकेको भन्ने उहाँमा चिन्ता देखिन्थ्यो।’
अहिले पनि राजनीतिमा अप्ठेराहरू, आर्थिक समस्या, सामाजिक संरचनाहरू पहिला जे थियो, त्यही अवस्थामा रहेकोप्रति भण्डारी चिन्तित रहेको उनको बुझा छ। संविधानमा व्यवस्था भएअनुसार अघि बढ्न बाधा व्यवधान बाँकी नै रहेकाले राजनीतिक योगदान आवश्यक भए आफू दिन तयार रहेको बताएको पनि निरौलाको भनाइ छ। भेटका क्रममा कतिपयले भने पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय भएर आउँदा हुने द्वन्द्वको विषयमा सचेत हुन सुझाव दिएको बताए। भेटघाटमा पुगेका एक राजनीतिक नेताले भने, ‘मैले पनि यो विषयलाई गम्भीर रूपमा लिन भनेको छु। सेरेमोनियल नै बस्नुपर्छ भन्ने हाम्रो संविधानमा पनि नभएकोले सक्रिय हुँदा खासै फरक नपर्ने तर त्यसबाट सिर्जित हुन सक्ने समस्याको बारेमा सचेत हुनुपर्छ।’
नेपालखबरसँगको कुराकानीमा राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले मुलुकको राजनीति सही ढङ्गले अगाडि नबढेको कारण यसलाई रेस्क्यु गर्नको लागि पूर्वराष्ट्रपति सक्रिय हुनुलाई खासै नकारात्मक रूपमा लिन नहुने बताए।
प्रतिक्रिया