डोटीको दुर्गम गाउँपालिका मुकाममा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

डोटीको दुर्गम गाउँपालिका मुकाममा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्


डोटी । डोटीको दुर्गम पालिका बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ चवराचौतारामा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् ट्रान्सफर्मरमा पुगेसँगै मंगलवार पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले ट्रान्सफर्मरमा स्विच अन गरेर विद्युत्को उद्घाटन गरेका हुन् ।

विद्युत् उद्घाटन गर्दै पालिका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम तीव्र रूपमा भइरहेको बताए । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्ष गड्सिलाले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । त्यसैगरी केदारअखडा र कानाचौरमा पनि बत्ती बाल्ने काम अगाडी बढ्ने बताए । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।

पालिका केन्द्रमा विद्युत् पुगेपछि बस्ती स्तरका सबै टोलहरूमा वायरिङ र मिटर जडानको कार्य सम्पन्न भएपश्चात् विद्युत् सप्लाइ गर्न सकिने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीले बताए । उद्घाटन कार्यक्रममा धामीको पनि उपस्थिति रहेको थियो ।

हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । पालिका मुकाम रहेको वडा नम्बर ७ मा आज विद्युत् पहुँच पुगेको छ भने वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सो लार विद्युत् पहुँच छ भने अन्य ठाउँमा बिजुली पुगेको छ ।