पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु. ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । गत आवको ६ महिनाको अवधिमा भने रु. तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढंगले बढेको उनले जानकारी दिए ।
चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा रु. तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया