काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् ।
बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताएका हुन् । अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।
‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानूनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भने ।
कतिपय मुलुकमा तोकिएका उमेर समूहका बाहेकका व्यक्तिले सामाजिक सञ्जाल चलाउन नमिल्ने व्यवस्था रहेको उनले सुनाए । ती मुलुकहरूमा दण्ड सजाय पनि निक्कै चर्को भएको भट्टराईले बताए ।
सामाजिक सञ्जालमा कसैको मानहानी गरेर कसैले क्षति पुर्याए त्यसको क्षतिपूर्ति पाउनु पर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल प्रयोग गर्नेले राष्ट्र, राष्ट्रियता, अखण्डता, सामाजिक एकता भड्काउन नमिल्ने उनले स्पष्ट पारे । ‘सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो काम गर्नुस्, रचनात्मक काम गर्नुस्, एकताको पक्षमा काम गर्नुस्’, उनले भने ।
प्रतिक्रिया