रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी, आजै आदेश आउनसक्ने

रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी, आजै आदेश आउनसक्ने


चितवन – साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस सुरु भएको छ ।

हिजो बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस भएको हो । बहस आज बिहान १० बजेबाट बहस सुरु भएको हो ।

हिजो वादीतर्फका सरकारी वकिलले बहस गरेका थिए भने आज विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

बुधबार बहस नसकिएपछि लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।