एमालेको प्रष्टीकरण: ‘प्रचण्ड’को सम्बोधनबारे जानकारी भए पनि स्वास्थ्य समस्याले प्रधानमन्त्री अनुपस्थित

एमालेको प्रष्टीकरण: ‘प्रचण्ड’को सम्बोधनबारे जानकारी भए पनि स्वास्थ्य समस्याले प्रधानमन्त्री अनुपस्थित


काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी भए पनि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्ने समयमा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो,’ उनले भने, ‘हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो । तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन । त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो । अरु कुनै कारण भएर नआउनु भएको होइन । स्वास्थ्यको असहजताले गर्दा आउनु भएन ।’

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ ।

तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका थिएनन् । सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ ।