तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।
आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्को चरणको तालिम दिइने प्रमुख आचार्यले बताउनुभयो । यस्ता तालिममार्फत महिलालाई सीपयुक्त र आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
प्रशिक्षक गोमा अम्गाईँले केराको थम्बाबाट रेशा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाएका थिए । उनले गाउँघरमा प्रशस्त पाइने केराको थम्बाबाट कपडालगायत धेरै किसिमका सामग्री बनाउन सकिने र उपयोगी पनि हुने बताए ।
शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सीप सिकेका छन् । सीपलाई यहाँका महिलाले उपयोग गर्न सकेमा आर्थिक रूपमा सबल बन्न सहयोग पुग्नेछ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा महिला उद्यमी संघ शुक्लागण्डकी एकाइले आयोजना गरेको हो ।
महिला उद्यमी संघ शुक्ल गण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खान मात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताए । तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताए । केराको रेशाबाट सामग्री बनाउन एक हप्ताको तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ । महिलाले कच्चा पदार्थ र सीपको उपयोग गर्नसके आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया