चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ । शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिला गरी काम हुन लागेको उनले बताइन् । सडक विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनको भनाइ छ । उनले भनिन्, “सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।” यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदल यात्री दुवैलाई हुने गरी लाइट जडान गरिँदै छ । काठमाडौँमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।
प्रतिक्रिया