एमाले महासचिवको उत्तर– बर्षमान पुनसित अनौपचारिक कुरा गर्न पनि सचेत हुनुपर्ने देखियो

एमाले महासचिवको उत्तर– बर्षमान पुनसित अनौपचारिक कुरा गर्न पनि सचेत हुनुपर्ने देखियो


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनःसँग अनौपचारिक कुरा गर्न सचेत हुनुपर्ने बताएका छन्।

सरकारले जारी गरेका अध्यादेश पारित गराउनका लागि पोखरेलले आफूलाई टेलिफोन गरी माओवादीको सहयोग माग गरेको पुनःले बताएका थिए।

तर आफूले त्यस्तो नभनेको जिकिर गर्दै महासचिव पोखरेल भन्छन्,‘नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ। अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो।’

पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्ने उल्लेख गरेका पोखरेल भन्छन्,‘अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन्। त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिंँदैन।’

एउटा कार्यक्रमका दौरान सरकारले जारी गरेका अध्यादेशलाई पारित गराउनका लागि माओवादीको साथ चाहिएको भनी एमाले महासचिवले आफूलाई प्रस्ताव राखेको पुनःले भनेका थिए।

पोखरेलले उत्तरमा भनेका छन्,‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ। तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो। जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ। म सँग उहाँले गरेको कुराकानी र सम्प्रेषित समाचार पूर्णतः फरक पनि छ। तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ।’

महासचिव पोखरेल थप लेख्छन्,‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो। आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ। जस्तो संक्रमणकालीन न्यायको विषयमा।’

जहाँसम्म वर्षमानजीलाई फोन गरेकै कारणले वलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारबाजी वचकनापन वाहेक केही नभएको टिप्पणी गरेका पोखरेल भन्छन्,‘त्यस प्रकारको विचारप्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ। जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा एमालेको नीति स्पष्ट छ।’

विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएको र अब पुनः त्यही काम गर्नु उचित हुँदैन भनेका पोखरेलले जोडेका छन्,‘कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो हो। वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ।’

एमाले महासचिव पोखरेलले फेसबुकमा लामै स्ट्याटस लेखेर भनेका छन्,‘जहाँसम्म राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई सम्वैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन। बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक ध्रुवीकरणको बाटोबाट हासिल गरिने विषय हो।’

अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसँगको सहकार्यले त्यसको औचित्य खण्डित नहुने भन्दै उनी थप्छन्,‘बरू त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ।’