देउवाको दाबी : ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होला

देउवाको दाबी : ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होला


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । बुधबार (आज) बाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए ।

‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’

उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरेका छन् । पार्टी मात्रै नभई देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।

‘हाम्रोमा आदिवासी जनजाति, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ,’ देउवाले भने ।

२५ वर्षपछि हुन लागेको नेपाली काँग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ ।

देउवाले महाधिवेशन सफलताको कामना पनि गरे ।

२०५३ सालमा पहिलो पटक प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।

यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।