सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गरे ।

सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य बीमा अनिवार्य सुरु गर्नुपर्नेमा जोड दिइन् ।

सांसद दामोदर वैरागी पौडेलले पोखरा महानगरपालिका र माछापुच्छ्रे क्षेत्र जोड्ने पक्की पुल बनाउन माग गरे । त्यस क्षेत्रका सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि उनको जोड थियो ।

सांसद दीपकबहादुर सिंहले स्वास्थ्यमा उच्च शिक्षा हासिल गरेका जनशक्तिले स्वदेशमै काम गर्ने अवसर पाउने गरी व्यवस्था मिलाउन माग गरे ।

सांसद दीपा शर्माले बाँकेको राँझा क्षेत्रमा सडक र पुल जीर्ण भएकाले बनाउने वातावरण बनाइदिन सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् ।

सांसद देवेन्द्र पौडेलले विद्युत्को महसुल तिर्नेको लाइन काट्ने नतिर्नेको नकाट्ने काम भइरहेको दाबी गर्दै यस्ता काम बन्द गर्न माग गरे ।

सांसद नागिना यादवले हावाहुरीको समय सुरु हुन लागेकाले विपद् व्यवस्थापन एवं पूर्वतयारको योजना बनाउन माग गरिन् ।

सांसद नारायणप्रकाश साउदले महाकाली सिँचाइ आयोजना तेस्रो सञ्चालन गराउने क्रममा जग्गा अधिग्रहण गरिएकामा केही किसानले अझै मुआब्जा नपाएकाले छिटो दिन माग गरे ।

सांसद नारायणी शर्माले सुशासन हुने वातावरण बनाउन माग गरिन् । सुशासनको मुद्दा देशव्यापी बन्नुपर्ने उनको भनाइ थियो ।

सांसद निर्मला कोइरालाले वीरगन्जमा निर्माण भएको रङ्गशाला खण्डहर बनेको उल्लेख गर्दै दातृ निकायसँग सहयोग लिएर भए पनि रङ्गशाला बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क गरिनुपर्नेमा जोड दिँदै छ महिनाअघि प्रधानमन्त्रीले डिजिटल कारोबार निःशुल्क गर्ने प्रतिबद्धता जनाउनुभएकामा कार्यान्वयन नभएको बताइन् ।

सांसद पुष्पबहादुर शाहले भारतको सुरतमा अछामका एक नेपाली बालिकाको बलात्कार भई २८ हप्ताको गर्भ रहेकाले बलात्कारमा संलग्न ती नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

सांसद पूर्णबहादुर घर्ती मगरले नेपाल अमेरिका दुई देशबीच भएको सम्झौता गलत भन्ने टिप्पणी अमेरिकी राष्ट्रपतिबाट भएकाले त्यसको संसदीय छानबिन गर्न माग गरे ।

सांसद प्रतीक्षा तिवारीले स्वदेशमै नेपाली विद्यार्थीले शिक्षा हासिल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । सांसद प्रभु हजाराले वीरगञ्जको पुरानो ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक सुधारको माग गरे ।

सांसद प्रेमबहादुर महर्जनले भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनापछि नेपाली विद्यार्थी भारतमा बसेर पढ्ने अवस्था नरहेकाले पढिरहेको शिक्षालयमा बसेर पढ्ने वातावरण बनाउन माग गरे ।

सांसद प्रेम सुवालले धेरै प्रदूषण गर्ने राज्यले क्षतिपूर्ति तिराउने व्यवस्था गराउन सरकारले पहल गर्नुपर्ने बताए । सांसद विन्ध्यवासिनी कंसाकारले साइबर सुरक्षा सुदृढ बनाउन माग गरिन् ।

सांसद वासुदेव घिमिरेले क्युआर कोडबाट थोरै भुक्तानी गर्दा धेरै सेवा शुल्क लाग्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिए। सांसद विनिता कठायतले समृद्धिका नाममा झुठको खेती नगर्न माग गरिन् । सांसद विमला सुवेदीले नेपाल ग्रे लिस्ट परेकाले त्यसबाट हट्ने गरी काम गर्न माग गरिन् ।