प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। भोलि (शुक्रबार) बेलुका ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइए हो ।

काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।

 

काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।

सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन।

गत साता नै सत्तापक्षको बैठक बसेर अगाडि बढाउने तयारी गरेपछि राष्ट्रियसभामा निर्णायक जसपा नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अफ्ठेरोमा परेको छ। भोलिको बैठकमा अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।

अध्यादेशबारेको निर्णय पुनर्विचार गर्नको लागि प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई आग्रह गरिरहेका छन्।