काँग्रेसले भन्यो-‘कुलमानलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिऔँ, ढुक्क हुन्छ’

काँग्रेसले भन्यो-‘कुलमानलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिऔँ, ढुक्क हुन्छ’


काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनुपर्ने अभिव्यक्ति दिएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण र घिसिङसँग सम्बन्धित विषयमा धारणा राखेपछि दलीय आधारमा बोलेका काँग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङलाई देवत्वकरण गर्ने काम भइरहेको बताएका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रसहित सबै प्रतिपक्षी दलका सांसदहरू उठेर घिसिङमाथि पटक पटक स्पष्टीकरण सोध्ने काम भएको र कार्यसम्पादनमा शून्य नम्बर दिएकोबारे सरकारको जबाफ मागेका थिए।

त्यसतर्फ लक्ष्य गर्दै काँग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङलाई देवत्वकरण नगर्न भनेका हुन्। यदि देवत्वकरण गर्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिएपछि ढुक्क हुने अभिव्यक्ति उनले दिए।

‘देवत्वकरण गरेर उहाँलाई टाउकामा बोक्दै हिँड्ने हो भने म प्रतिपक्ष दलसँग आग्रह गर्छु, सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऊँ, ढुक्क हुन्छ त्यति भएपछि,’ घिमिरेले भने।

एक जना कर्मचारीका लागि सिंगो प्रतिपक्ष उठेर संसदमा विरोध गरेको उनको भनाइ थियो। घिसिङका केही राम्रा र नराम्रा पक्ष होलान् भन्दै उनले नेपालका कर्मचारीतन्त्र दूधले नुहाएका छैनन् भनेका छन्।