चुनावमा नेतान्याहुलाई समर्थन गर्न ट्रम्प किन हिचकिचाउँदैछन् ?

चुनावमा नेतान्याहुलाई समर्थन गर्न ट्रम्प किन हिचकिचाउँदैछन् ?


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा पहिलोपटक ह्वाइट हाउस प्रवेश गरेदेखि नै दक्षिणपन्थी इजरायलीहरूको चाहनाअनुसारका धेरै काम गरेका छन् । उनले अपनाएको विदेश नीतिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक अवस्था बलियो बनाउन पनि मद्दत गरेको छ ।

त्यसको बदलामा नेतान्याहुले इजरायलको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धको कुशल संरक्षक आफू नै भएको चित्रण गर्दै आएका छन् । ट्रम्पका तर्फबाट सार्वजनिक रूपमा भएका केही आलोचना र चुहिएका असन्तुष्टिका अभिव्यक्तिबीच पनि नेतान्याहुले सम्बन्धलाई कायम राखेका छन् । तर ती आलोचनाले अमेरिकी नीतिमा ठोस परिवर्तन ल्याउन सकेका छैनन् ।

यद्यपि, लामो समयदेखिको सम्बन्ध हुँदाहुँदै पनि ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली चुनावप्रति अहिलेसम्म खासै चासो देखाएका छैनन् । यस चुनावमा नेतान्याहुको लिकुड पार्टी र उसले नेतृत्व गरेको अतिदक्षिणपन्थी गठबन्धनलाई गादी आइजेनकोट नेतृत्वको याशार पार्टी तथा उनले निर्माण गर्न खोजेको विपक्षी गठबन्धनबाट चुनौती बढिरहेको छ ।

अरब सेन्टर वासिङ्टन डीसीको प्यालेस्टाइन–इजरायल कार्यक्रमका प्रमुख युसेफ मुनायेरका अनुसार ट्रम्पको यस्तो सार्वजनिक उदासीनतामागि अमेरिका र इजरायल दुवैतर्फ बदलिँदो राजनीतिक परिस्थिति तथा ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा आएको परिवर्तन जिम्मेवार हुन सक्छ ।

मुनायेरले अल जजिरासँग भने, “ट्रम्पले आफ्ना दक्षिणपन्थी सहयोगीहरूलाई विगतमा दिएको समर्थन, ट्रम्प–नेतान्याहु सम्बन्धको इतिहास र उनीहरूबीच रहेको निकटतालाई हेर्दा उनले अहिले यस विषयबाट अपेक्षा गरिएभन्दा बढी दूरी कायम गरेको देखिन्छ ।”

ट्रम्पले हालै टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा नेतान्याहुलाई समर्थन गर्ने कि नगर्ने भन्ने प्रश्न तीनपटक छल्दै जवाफ दिन अस्वीकार गरेका थिए । यद्यपि, सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा भएको आक्रमणअघि नेतान्याहुको नेतृत्वको उनले बचाउ गरेका थिए ।

आइजेनकोटबारे सोध्दा ट्रम्पले भने, “मैले उनीबारे नराम्रो कुरा सुनेको छैन ।”

बदलिँदै गएको समर्थन?

निश्चय नै, इजरायल र विशेषगरी नेतान्याहुप्रति ट्रम्पको व्यवहारले उनका शब्दभन्दा बढी कुरा बताउँदै आएको छ ।

सन् २०१७ देखि २०२१ सम्मको पहिलो कार्यकालमा ट्रम्पले अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सारेका थिए । उनले गोलान हाइट्समाथि इजरायलको कब्जालाई मान्यता दिएका थिए, सन् २०१५ मा भएको इरानको आणविक सम्झौताबाट अमेरिका बाहिर निकालेका थिए र अरब मुलुकहरूसँग सम्बन्ध सामान्यीकरण गर्ने शृङ्खलाबद्ध सम्झौताको नेतृत्व गरेका थिए । ती सम्झौताले इजरायल–प्यालेस्टाइन विवादलाई सम्बोधन नगरी अरब मुलुकहरूसँग इजरायलको सम्बन्ध अघि बढाउने प्रयास गरेका थिए ।

जनवरी २०२५ मा सुरु भएको दोस्रो कार्यकालमा पनि ट्रम्पले गाजामा नरसंहारका बीच इजरायललाई अमेरिकाका अत्यन्त विनाशकारी हतियारको आपूर्ति बढाइरहे । उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्धको दबाब अभियानलाई तीव्र बनाए । साथै, विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष सहभागी भयो ।

ट्रम्पले जारी भ्रष्टाचार मुद्दामा नेतान्याहुलाई माफी दिनुपर्ने मागसमेत गरेका छन् । गत वर्ष ह्वाइट हाउस फर्किएयता उनले नेतान्याहुलाई कम्तीमा सातपटक आतिथ्य दिएका छन्, जुन अन्य कुनै पनि विश्व नेताले पाएको भन्दा बढी हो ।

दुवै नेताबीचको सम्बन्धमा गाजामा दीर्घकालीन शान्ति स्थापना गर्ने र इरानसँगको युद्ध अन्त्य गर्ने वासिङ्टनको प्रयासमा नेतान्याहुले अवरोध गरेको विषयमा असहमति देखिँदै आएको छ । तर ती असहमति वास्तविक नीतिगत परिवर्तनमा परिणत भएका छैनन् ।

वासिङ्टन डीसीस्थित डीएडब्लूएन थिंक ट्याङ्कका इजरायल–प्यालेस्टाइन निर्देशक माइकल ओमर–म्यानले भने, “यो सम्बन्ध सार्वजनिक रूपमा देखाउन दुवै पक्षले सावधानीपूर्वक तयार पारेको हो । हामीले थाहा पाएका केही रोचक आन्तरिक कुरा पनि लगभग पूर्ण रूपमा ट्रम्पकै इच्छाअनुसार बाहिर आएका हुन् ।”

उनले चुनावको अन्तिम चरणमा नेतान्याहुलाई बलियो बनाउन अमेरिकाले ठूलो कदम चाल्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् ।

ओमर–म्यानले अल जजिरासँग भने, “मलाई लाग्दैन ट्रम्पले नेतान्याहुलाई त्यागेका छन् । तर उनी यथार्थवादी पनि हुन् । विभिन्न देशमा आफूले रुचाएका उम्मेदवारहरू चुनाव जितेको र हारेको उनले देखेका छन् ।”
उनका अनुसार यो चुनावमा ट्रम्पका लागि दाउमा रहेको विषय त्यति ठूलो नहुन पनि सक्छ ।

आइजेनकोटले नेतान्याहुको तुलनामा बढी मध्यमार्गी नीति अपनाउने प्रतिबद्धता जनाएका छन् । विशेषगरी कब्जामा रहेको पश्चिम किनारमा फैलिरहेको यहुदी बस्तीका बासिन्दाको हिंसा नियन्त्रण गर्ने विषयमा उनले फरक दृष्टिकोण अपनाउने बताएका छन् ।

तर ती परिवर्तन मुख्यतः युरोपेली सरकार र विश्व जनमतमाझ इजरायलको छवि सुधार्न लक्षित छन् । ट्रम्प प्रशासनसँग इजरायलको पहिले नै सहज सम्बन्ध रहेकाले त्यसमा खासै असर नपर्ने ओमर–म्यानको आकलन छ ।

उनले भने, “अमेरिकासँगको सम्बन्धमा धेरै परिवर्तन आउने मलाई लाग्दैन, किनकि अहिले दुई पक्षबीच ठूलो घर्षण देखिएको छैन ।”

उनका अनुसार आइजेनकोट नेतृत्वको सरकारले पश्चिम किनारका हरेक डाँडामा बस्ती विस्तार गर्ने गतिविधि रोक्न सक्छ र गाजामा थप मानवीय सहायता प्रवेश गर्न दिन सक्छ । तर उनले थपे, “पहिले नै चालिएका कुनै पनि कदम उल्ट्याउने काम भने उनीहरूले गर्ने छैनन् ।”

‘शत्रु र मित्रबीचको भिन्नता’

इन्टरनेसनल क्राइसिस ग्रुपकी इजरायलसम्बन्धी वरिष्ठ विश्लेषक मेराभ जोन्सजेनले पनि ट्रम्प र नेतान्याहुको सम्बन्ध वरपरको राजनीतिक परिस्थिति बदलिएको विषय औँल्याएकी छन् ।

उनका अनुसार ट्रम्पले नेतान्याहुलाई समर्थन गर्न हिचकिचाउनुको एउटा कारण अमेरिकी प्रशासनभित्र इजरायली सरकारलाई हेर्ने दृष्टिकोणमा देखिएको विभाजन हो । अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा रिपब्लिकन पार्टीभित्र पनि यस्तै मतभेद देखिएको छ ।

जोन्सजेनले भनिन्, “यसको कारण इरान युद्ध र ट्रम्प प्रशासनभित्रको विभाजन दुवै हुन सक्छ । उपराष्ट्रपति जेडी भान्सजस्ता व्यक्तिले अमेरिकालाई इरानमाथि आक्रमण गर्न उक्साउन नेतान्याहुको भूमिका रहेको भन्दै त्यसको कडा विरोध गरेका छन् ।”

जनमत सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका मतदातामाझ इजरायलप्रतिको समर्थन अझै उच्च रहेको देखाए पनि पछिल्ला वर्षमा त्यसमा गिरावट आएको छ । पार्टीभित्र नेतान्याहुप्रतिको विश्वास पनि घटेको छ ।

यसैबीच, इजरायलमा ट्रम्पको प्रभावबारेको धारणा पनि बदलिएको छ । नेतान्याहुका आलोचकहरूले लेबनानमा इजरायली सैन्य कारबाही सीमित गर्न अमेरिकाले खेलेको भूमिकालाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उक्त सैन्य कारबाहीले जुन महिनामा भएको समझदारी भंग हुने जोखिम बढाएको थियो, जसले अमेरिका–इजरायल र इरानबीचको युद्धलाई केही समयका लागि रोक्ने व्यवस्था गरेको थियो ।

इजरायली डेमोक्रेसी इन्स्टिच्युटले जुनमा सार्वजनिक गरेको सर्वेक्षणअनुसार, इजरायलको सुरक्षालाई ट्रम्पले प्रमुख प्राथमिकतामा राख्छन् भन्ने ठान्ने यहुदी इजरायलीको संख्या ४४ प्रतिशत थियो । मार्चमा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको केही समयपछि यस्तो धारणा राख्नेको संख्या ६१ प्रतिशत थियो ।

जोन्सजेनका अनुसार यसपटकको चुनावमा नेतान्याहुले ट्रम्पसँगको निकटता देखाउने ठूला होर्डिङ बोर्डहरू प्रयोग गरेका छैनन् । विगतका चुनावमा उनले यस्तो रणनीति अपनाउने गरेका थिए ।

यसको सट्टा नेतान्याहुले आफूले इजरायलका प्रमुख क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शत्रु ठानेका व्यक्तिहरूलाई चुनावी प्रचारमा प्रस्तुत गरेका छन् । तीमध्ये हिजबुल्लाहका महासचिव नइम कासिम, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र न्युयोर्कका मेयर जोहरान ममदानी छन् ।

जोन्सजेनका अनुसार नेतान्याहुले अहिले “आफ्ना मित्रभन्दा शत्रु को हुन् भन्ने विषयलाई” बढी जोड दिइरहेका छन् ।