काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताएका छन् ।
हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनुपर्नेमा जोड दिएका छन् ।
उनले पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक कर्मचारीप्रति नागरिकको धारणामा पनि परिवर्तन आउने विचार राख्दै कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको होलो मुख्यमन्त्री (सिएम) कार्यक्रममा तीन महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सात वटा मात्र गुनासो आएका बताउँदै यसमा पाँच वटा सम्बोधन भइसकेका जानकारी दिए।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुई महिनाको अवधिमा करिब तीन हजार गुनासो सम्बोधन भइसकेको जानकारी दिँदै नागरिकका गुनासो र समस्यालाई शून्यमा झार्ने गरी काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए । उनले परिवर्तनको विकल्प नरहेकाले परिवर्तनका लागि पनि दत्तचित्त भएर सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन निरौलाले हेलो सिएम, प्रधानमन्त्री कार्यालयका इन्जिनियर विनय सुवेदीले पोर्टल सञ्चालनसम्बन्धी प्रविधि ज्ञान र हेलो सरकार एपका उपसचिव तुलराज सुनुवारले ‘हेलो सरकार’ सम्बन्धी आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा कोशी प्रदेशका सामाजिक मन्त्रालयका सचिव हेमराज तामाङलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया