काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ स्थगित गरेको छ । आज (शनिबार) रौतहटमा जारी कार्यक्रमपछि शीर्ष नेताहरू काठमाडौं फर्कने तयारीमा छन् ।
माओवादी नेतृत्वले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ परिस्थितिलाई बुझ्न र आवश्यक रणनीति बनाउन अभियानलाई केही समयका लागि रोक्ने निर्णय गरेको हो । पछिल्लो समय राजावादी शक्तिहरूको सक्रियता बढ्दै गएको तथा सरकारका गतिविधिहरूले जनविरोधी प्रवृत्तिलाई प्रश्रय दिइरहेको ठहर पार्टीले गरेको छ ।
रौतहटमा बसेको अनौपचारिक बैठकपछि आइतबार पदाधिकारी बैठक बोलाइएको छ । जहाँ पछिल्लो घटनाक्रमको विस्तृत समीक्षा गरिने बताइएको छ । यो बैठकले आगामी दिनमा आन्दोलनको स्वरूप परिमार्जन गर्ने, संसद् र सडक संघर्षलाई थप प्रभावकारी बनाउने र अभियानलाई नयाँ रणनीतिसहित अघि बढाउने निर्णय गर्ने बताइएको छ ।
माओवादी केन्द्रले फागुन १२ गते झापाबाट यो अभियान सुरु गरेको थियो । जसअन्तर्गत विभिन्न जिल्लाहरूमा कार्यक्रम सञ्चालन हुँदै आएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव गोविन्द आचार्यले तराईमा होली लागिसकेको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएको अभियान पुनःसुरु गर्ने गरी स्थगित भएको जानकारी दिए ।
’तराईमा होली पनि लागिसकेको छ । समसामयिक राजनीतिक विषयमा छलफल पनि गर्नुपर्ने देखिएकोले अभियान स्थगित गरिएको हो,’ उनले भने, ‘सरकारले गरेका काम कारबाही र अहिलेको व्यवस्थामाथि धावा बोल्ने काम भइरहेकोले खबरदारी गर्न माओवादीले आफ्नो भूमिका खेल्ने गरी तयारी गर्न लागि परेको छ ।’
प्रतिक्रिया