कांग्रेसले घोषणा गर्‍यो मिसन रोजगारी अभियान, गगन थापा र विश्वप्रकाश शर्मा यसो भन्छन्

कांग्रेसले घोषणा गर्‍यो मिसन रोजगारी अभियान, गगन थापा र विश्वप्रकाश शर्मा यसो भन्छन्


काठमाडौं। नेपाली कांग्रेसले मिसन रोजगार अभियान घोषणा गरेको छ। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबार पार्टी कार्उालयमा अभियान घोषणा गरेका हुन्।

मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको थापाले बताए। ‘युवाहरु स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ उनले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रुपमा पहल गर्छौं।’

श्रम बजारमा जाने ठूलो संख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको भनाइ छ। विज्ञहरुलाई समेत बोलाएर छलफल गर्दै अरु दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए।

युवाहरुलाई विदेश जानबाट रोक्नका लागि स्वदेशमा रोजगारी सृजना गर्ने काम नभएकामा उनले चिन्ता व्यक्त गरे। ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ,’ थापाले भने, ‘कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’

अर्का महामन्त्री शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए। ‘विगतमा पनि काम भइरहेको थियो,’ उनले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं।’

रोजगारी सृजना र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ।

अभियान अन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफलका साथै बजारको माग अध्ययन गर्ने कांग्रेसले जनाएको छ।