भ्रष्टाचारी ठहर कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको पक्ष सानेपामा आन्दोलनको तयारी

भ्रष्टाचारी ठहर कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको पक्ष सानेपामा आन्दोलनको तयारी


काठमाडाैं  । भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तीको मागमा पटक–पटक बेवास्ता गरेपछि फेरि आन्दोलनको तयारी थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा गत १३ र १४ माघमा धर्ना गरिएको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २५ फागुनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै धर्ना स्थगित भएको थियो । तर, लामो समयसम्म पनि यसबारे नेतृत्व मौन रहेपछि फेरि आन्दोलनको तयारी गरिएको हो ।

सर्लाही कांग्रेस उपसभापति नवीन अधिकारीले नेतृत्वको अनुरोधलाई स्वीकार गर्दै यसअघि धर्ना स्थगित गरिएको, तर माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै निर्णायक आन्दोलन गर्ने बताए । ‘पार्टी उपसभापति र महामन्त्रीहरूले नै समय दिएपछि हामीले मानेका हौँ, तर यस अवधिमा कुनै निर्णय भएन ।

अब ८ चैतदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । पार्टी कार्यालयमै खाने, बस्ने गरी रिले अनशन र धर्ना दिइन्छ,’ उनले भने । अधिकारीले करिब सयजनाको टोली ७ चैतमा सर्लाहीबाट काठमाडौं हिँड्ने बताए । कांग्रेस नेताहरूले १६ माघमा सानेपामा ‘नेपाल स्टार्ट–अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ हुने भएकाले धर्ना स्थगित गर्न र पार्टी बैठक बसेर टुंगो लगाउने बताएका थिए । सिंह सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा गरेको आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाएको थियो । सो आदेशविरुद्ध सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । गत १५ फागुनमा सर्वोच्चले पनि विशेषको फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।नयाँपत्रिकामा लेखेको छ

सर्वोच्चले उनीविरुद्ध चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनी दोषी ठहर भएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन् । सर्वोच्चको फैसलापछि कांग्रेस सर्लाहीले पार्टी केन्द्रलाई नयाँ जिल्ला सभापति चयनको प्रक्रिया थाल्न पटक–पटक ध्यानाकर्षण गराएको थियो । यसबिचमा कांग्रेस सर्लाहीले नेतृत्वलाई दुईपटक औपचारिक पत्र पठाएको थियो । साथै, पटक–पटक नेतृत्वलाई भेटेर जानकारी गराएको थियो । यसअघि उनीहरू २४ पुसमा सानेपामा धर्ना बसेका थिए ।