गगन थापाले भने-नागरिकका आक्रोशको आगोमा रोटी सेक्नेहरू छन्

गगन थापाले भने-नागरिकका आक्रोशको आगोमा रोटी सेक्नेहरू छन्


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एक थरी रोटी सेक्न चाहेको बताएका छन् ।

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व काँग्रेसको रहेको बताए ।

सुदूरपश्चिम काँग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए ।

‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा पनि हामीलाई साथ दिए । पहिलो संविधान सभा असफल भएको बेलामा पनि साथ दिए । ती नागरिकहरूमा आज असन्तुष्टि देखिएको छ,’ उनले भने ।

उनीहरूले व्यवस्था बदल्छु भनेर काँग्रेसलाई साथ दिँदै आएको उनको भनाइ थियो ।

नागरिकहरूले उठाएका प्रश्नबारे थापाले भने, ‘तिमिले व्यवस्था बदलेपछि मेरो अवस्था बदलिन्छ भनेर भन्यौँ । तिमिले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने थापाको भनाइ छ ।