काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आर्जु राणा देउवाले गरेको पछिल्लो प्रयास पनि विफल भएको छ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘रायशिना डाइलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी यस जयशंकरसँग मंगलबार भेटवार्ता गरेकी हुन्।
रायसिना डायलगमा साइडलाइन वार्ताका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएपनि त्यसले अपेक्षाकृत उपलब्धि हुन नसकेको हो जयशंकरसँगको भेटवार्ताका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो। तर, भेटका क्रममा निमन्त्रणापत्र नै हस्तान्तरण हुन नसकेको जानकार स्रोतले जानकारी दियो।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ। प्रधानमन्त्री ओली र एमालेसँग असन्तुष्ट रहेको भारतीय पक्षले उनीसँगको सम्बन्ध न सुधार गर्न नचाहेको पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन्।
परराष्ट्रमन्त्री राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा एमालेले काठमाडौंमा गरेको निर्णयले भारतीय पक्ष थप चिडिएको हुन सक्ने बताइएको छ। यहीँ फागुन २५ गते काठमाडौंमा भएको पूर्वराजा समर्थित आन्दोलन भारतीय उक्सावटमा भएको भन्ने एमालेको निष्कर्ष छ।
दिल्लीमा राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा यता एमालेले औपचारिक रुपमै राजावादीको आन्दोलनलाई भारतसँग जोडेपछि अवस्था थप बिग्रिएको छ।
भेटपछि परराष्ट्रमन्त्री राणाले ट्वीटमार्फत भारतीय समकक्षीसँग नेपाल भारत सम्बन्धका विविध आयामबारे उपलब्धिमूलक छलफल भएको दाबी गरेकी छन्।
‘भारतका बाह्य मामिला मन्त्री, सम्माननीय डा. एस.जयशंकरसँग रैसिना संवादको पृष्ठभूमिमा एक अत्यन्त फलदायी संवाद भयो। माननीय जयशंकर र मैले द्विपक्षीय सम्बन्धको अवस्था मूल्याङ्कन गरे, विभिन्न क्षेत्रहरूमा जारी सहकार्यको बारेमा छलफल गर्यौं र जनतासँगको सम्बन्ध र कूटनीतिक आदान-प्रदानलाई सुदृढ गर्नका लागि नयाँ मार्गहरूको पहिचान गर्यौं,’राणाले भनेकी छन्,’मैले भारतको “नेबरहुड फर्स्ट नीति”को सराहना व्यक्त गर्दै नेपालको भारतसँगको सम्बन्धलाई निरन्तर प्राथमिकता दिने कुरा व्यत्तित्व गरे।’
उनले सगरमाथा संवादका लागि प्रधानमन्त्री मोदीलाई निम्तो हस्तान्तरण गरिएको उल्लेख गरेकी छैनन्।
त्यस्तै भारतीय समकक्षी जयशंकरले पनि नेपालको परराष्ट्रमन्त्री राणासँग भेटवार्ता भएको ट्वीटमार्फत नै जानकारी दिएका छन्। तर उनले भेटमा भएका कुरालाई दिएका छैनन्।
जय शङ्करले भनेका छन्,’आज विदेश मन्त्री नेपाल आर्जु राणा देउवासँग भेट गरेर खुसी लाग्यो। हाम्रो द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूमा छलफल गर्यौं।’
भेटको विषयलाई लिएर नेपाली पक्षले जुन दाबी गरेको छ त्यसलाई भारतीय पक्षले समर्थन नगरेको देखिन्छ। सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री राणाले ठोस रूपमा गरेको यो तेस्रो प्रयास हो। यसअघि नयाँ दिल्लीमै र न्युयोर्कमा भेटेर उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने र सम्बन्ध सुधार गराउने प्रयत्न गरेकी थिइन्।
कांग्रेस सम्बन्ध सुधारका लागि निरन्तर लागे पनि सरकारको नेतृत्व गरेको एमालेबाटै असहयोग भएपछि कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ।
परराष्ट्रमन्त्री राणा स्वदेश फर्किएपछि यो घटनाक्रमले सत्ता गठबन्धनमै मतभेद सिर्जना गर्न सक्ने कांग्रेसका एक नेताले बताए।
प्रतिक्रिया