पीएन क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै दोब्बर बढी मतान्तरले विजयी

पीएन क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै दोब्बर बढी मतान्तरले विजयी


पोखरा । देशकै ठूलो पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा दोब्बर बढी मतान्तरले अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमा समेत उम्मेदवारी परेको थियो । तर, सबै आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर विरासतलाई कायमै राखेको हो ।

अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् । पोखरेलले एक हजार १०५ मत ल्याउँदा नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाको समेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए । अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए ।

माओवादी निकट क्रान्तिकारीको एउटा समूहसमेत यो मोर्चामा हुँदा पनि यति कमजोर मत आएको हो । अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत ल्याएका थिए । पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए ।

कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् ।