काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हाजिरी जमानीमा छुटेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परे हाजिर हुने सर्तमा ओली र लेखकलाई आफन्तको जिम्मेवारीमा छोडिएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि ओलीलाई श्रीमती राधिका शाक्य र लेखकलाई श्रीमी यशोदा जोशी लेखकको जिम्मामा छाडेको हो । गत भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनमा दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले चैत १४ गते शनिबार पक्राउ गरेको थियो । उनीहरूलाई घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेको भन्दै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको सरकारले गठन भएकै अर्को दिन पक्राउ गरेको थियो ।
पक्राउपछि बिरामी रहेको भन्दै ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भ एका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो । त्यसपछि ओली र लेखकको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा हालेका थिए । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो । अदालतले नै अब म्याद थप नगर्न भनेपछि उनीहरू थुनामुक्त भएका हुन् ।

प्रतिक्रिया