पोखरा। पोखरा महानगरपालिका–८, सभागृहचोकमा बुधबार एक महिलाको खुँडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पोखरा–५ बस्ने सिर्जना पौडेल केसीको हत्या पारिवारिक कलहका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
प्रहरीका अनुसार हत्यामा संलग्न भाञ्जा नाता पर्ने २७ वर्षीय सन्तोष भन्ने शिशिर केसीलाई बुटवल–२ मनकामना टोलबाट पक्राउ गरिएको हो। घटनामा सहयोग गरेको आरोपमा उनका साथी ३२ वर्षीय कुशल परियारलाई पनि पोखरा–१७ रातोपहिराबाट नियन्त्रणमा लिइएको छ। शिशिर केसी पर्वतको कुश्मा नगरपालिका–११ शिल्मीका स्थायी बासिन्दा हुन्। प्रहरीका अनुसार उनी यसअघि पनि आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनीविरुद्ध २०८० माघ २४ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार मुद्दा चलेको थियो भने २०८२ असार ५ गते चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। त्यस्तै २०८२ साउन २३ गते इलाका प्रहरी कार्यालय सिसुवाबाट फेरि चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए।
सहआरोपी कुशल परियार भने लागुऔषध सम्बन्धी मुद्दामा २०७५ असोज ११ र २०७६ वैशाख १७ मा जिल्ला प्रहरी कार्यालय कास्कीबाट कारवाहीमा परिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। प्रहरीले पोखरा–७ मुस्ताङचोकबाट घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर बरामद गरेको छ। त्यस्तै पोखरा–१६ बिरौटास्थित तितेपानी जंगलबाट घटनामा प्रयोग गरिएको धारिलो हतियार खुँडा पनि बरामद गरिएको छ।
अनुसन्धानका क्रममा मृतक सिर्जना पौडेल केसीले कास्की जिल्ला अदालतबाट बकसपत्रसम्बन्धी मुद्दा जितेर पतिको अंश भोग गरिरहेको खुलेको छ। तर उक्त सम्पत्ति फिर्ता गराउन पतितर्फका आफन्त सक्रिय रहेको र यही विषयमा परिवारभित्र विवाद बढ्दै गएको प्रहरीको भनाइ छ। सिर्जना पौडेल केसीले पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी थिइन्। चार वर्षअघि मालेपाटनका कृष्ण केसीसँग विवाह गरेकी थिइन्। कृष्ण केसीको पहिलो पत्नीको मृत्यु भएपछि उनीसँग विवाह भएको थियो। विवाहपछि उनीहरूको एक छोरी जन्मिएकी थिइन्, जसको उमेर हाल तीन वर्ष रहेको छ।
प्रहरीका अनुसार कृष्ण केसीको दुई वर्षअघि निधन भएपछि परिवारमा अंशसम्बन्धी विवाद चर्किँदै गएको थियो। पक्राउ परेका दुवै आरोपितविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रतिक्रिया