प्रधानमन्त्री बालेनलाई गालीगलौज गरेको आरोपमा युट्युबर पक्राउ

प्रधानमन्त्री बालेनलाई गालीगलौज गरेको आरोपमा युट्युबर पक्राउ


फिदिम । प्रधानमन्त्री बालेन्द्र शाहलाई गालीगलौज गर्दै युट्युबमा सामग्री बनाएको आरोपमा पाँचथर प्रहरीले स्थानीय युट्युबर रोशन पोख्रेललाई पक्राउ गरेको छ।      ‘हेडेस’ नामको युट्युब च्यानल सञ्चालन गर्दै आएका पोख्रेल फाल्गुनन्द गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् र सदरमुकाम फिदिममा बस्दै आएका थिए। प्रहरीका अनुसार उनी नियमित रूपमा राजनीतिक व्यक्तित्वहरूको आलोचना गर्दै सामग्री बनाउने गर्थे।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पोख्रेलले प्रधानमन्त्री शाहसहित अन्य नेताहरूको बेइज्जत हुने गरी अपमानजनक र घृणामूलक सामग्री युट्युबमा अपलोड गरेको उजुरी परेपछि उनलाई चैत २६ गते पक्राउ गरिएको हो। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत व्यक्तिको मानहानि गर्ने, गालीगलौज गर्ने तथा घृणा फैलाउने सामग्री प्रसारण गर्नु गैरकानुनी भएको बताएको छ। सोहीअनुसार पोख्रेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला अदालत पाँचथरले शुक्रबार उनलाई १० दिनको म्याद थप गरेको छ।