काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको छ । दलको नेताका निम्ति आकांक्षी धेरै भएकाले मिलाउन नसकिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए । “संसदीय दलको नेताका लागि हामीले सर्वसम्मत गर्न खोजेका हौँ । सर्वसम्मत हुने वातावरण नबनेका कारणले ढिलो भइरहेको छ,” उनले भने, “सबै आ–आफ्नो अडानमा हुनुहुन्छ । अब धेरै पर्खिन सक्ने स्थिति छैन ।”
सहमति नभएको अवस्थामा चुनावी प्रक्रिया नै विकल्प भएको उनले स्पष्ट पारे । नयाँ वर्षको आगमनसँगै संसदीय दलको नेता टुंगो लगाइने उनले बताए । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाले दाबी गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण दुलालले संसदीय दलको नेता चयनका निम्ति निर्वाचन समिति बनाउने तयारी गरिएको बताए । उनले भने, “हाम्रो काम निर्वाचन समिति बनाएर पठाउने हो । आगामी वैशाख २ गतेभित्र निर्वाचन समिति बन्छ ।”
यसपालि प्रतिनिधिसभामा सहभागी ६ दलमध्ये पाँचवटाले संसदीय दलको नेता टुंगो लगाइसकेका छन् । संसदीय दलको नेता टुंगो लगाउन कांग्रेस मात्र बाँकी हो ।

प्रतिक्रिया