काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गते सुरु हुने भएको छ । दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते बैठक बसी प्रक्रिया सुरु गर्ने र वैशाख ४ गते निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
रसाइलीले भने, “वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौं । वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिन्छौं । सकेसम्म सर्वसम्मतिमा दलको नेता चयन गर्ने, नभए निर्वाचनबाट टुंगो लगाउने तयारीमा छौं ।”
कांग्रेसका प्रतिनिधिसभामा ३८ जना सांसद छन् । जसमध्ये १८ जना प्रत्यक्ष निर्वाचित र २० जना समानुपातिक छन् । दलको नेताका लागि चार जना नेताले दाबी गरेका छन् । अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्का दलको नेताको उम्मेदवार बन्न इच्छुक छन् । केसी र आङ्देम्बेले सार्वजनिक रूपमै आफूहरूको दाबी रहेको बताइसकेका छन् ।
निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेका छन् । कांग्रेस सांसदहरूले नयाँ संसदीय दलको नेताको चयन गर्न लागेका हुन् ।

प्रतिक्रिया