पोखरा। गण्डकी प्रदेश सरकारमा ठूलो मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकारका लगभग सबै मन्त्री फेरिने भएका छन्। नयाँ मन्त्रीहरूलाई केही घण्टाभित्रै शपथ ग्रहण गराइँदै छ।मुख्यमन्त्री पाण्डेको सचिवालयका अनुसार प्रदेशका ९ वटा मन्त्रालयमध्ये अधिकांशमा नयाँ अनुहार आउन लागेका छन्। प्रदेशसभा सदस्य भीम कार्कीले नेपालखबरसँग कुरा गर्दै आफू मन्त्री बन्न लागेको पुष्टि गरेका छन्।
“शपथ ग्रहणमा जानुपर्यो भनेर फोन आएको छ,” उनले भने, “कुन मन्त्रालय पाउँछु भन्ने अझै थाहा छैन।” कास्की क्षेत्र नं २ (क) बाट निर्वाचित एमाले सांसद भीम कार्कीसहित समानुपातिक सांसद गोविन्दबहादुर नेपाली पनि मन्त्री बन्ने निश्चित भएको स्रोतले बताएको छ।
यो फेरबदललाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। गठबन्धन सरकार सञ्चालनमा आएपछि पहिलो पटक यति ठूलो स्तरको मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो। केही मन्त्रीहरूको कार्यशैलीप्रति गठबन्धनभित्र असन्तुष्टि रहेको र विकास निर्माण तथा सेवा प्रवाहलाई गति दिन नयाँ टिम ल्याउन लागिएको आन्तरिक स्रोतहरूले जनाएका छन्।
हालका मन्त्रीहरू फेरिँदै
कांग्रेसतर्फ हाल मन्त्रिपरिषद्मा रहेका :
– आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङ
– सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा
– वन तथा वातावरण मन्त्री भेषबहादुर थापा
एमालेतर्फ :
– कृषि, भूमि तथा सहरी विकास मन्त्री पद्मा जिसी श्रेष्ठ
– स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक
– उद्योग, पर्यटन तथा यातायात मन्त्री मित्रलाल बस्याल
– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशबहादुर केसी
यी सबै मन्त्रीको जिम्मेवारी परिवर्तन हुँदैछ। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने नेसपा (नयाँ शक्ति) का फणीन्द्र देवकोटाले राजीनामा दिएपछि हाल मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै सम्हाल्दै आएका छन्। यो मन्त्रालयमा पनि नयाँ मन्त्री आउन सक्ने सम्भावना छ।
गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय छन्। नयाँ मन्त्रीहरूको टुंगो लागेपछि पूर्ण मन्त्रिपरिषद् गठन हुने र शपथग्रहण कार्यक्रम केही समयमै पोखरामै हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
यो पुनर्गठनले प्रदेश सरकारलाई नयाँ ऊर्जा दिने र बाँकी कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ। विशेष गरी पर्यटन, कृषि, भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ मन्त्रीहरूबाट ठोस उपलब्धि हुने आशा राजनीतिक वृत्तमा छ।

प्रतिक्रिया