काठमाडौं । सर्वोंच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ ।
खड्काको तर्फबाट उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ ।”
सर्वोच्चले खड्कामाथि पछिल्लो समय राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानको फाइल झिकाउन आदेश दिएको छ । विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिइएको छ ।
खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो ।
गत भदौ २४ गते खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

प्रतिक्रिया