कालापानी, लिपुलेक र सुस्ताबारे भारत भ्रमण मौन

कालापानी, लिपुलेक र सुस्ताबारे भारत भ्रमण मौन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा लामो समयदेखि विवादित नेपाल–भारत सीमा समस्याबारे कुनै ठोस सहमति हुन सकेन । भ्रमणपछि जारी संयुक्त वक्तव्यमा सीमा समस्याको समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिने उल्लेख गरिएको छ । तर, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत विवादित क्षेत्रको विषयमा कुनै ठोस सहमति सार्वजनिक गरिएको छैन । संयुक्त वक्तव्यमा दुवै देशका नेताले सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘दुवै नेताले सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । बाँकी रहेका सीमा समस्याको समाधानका लागि काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो ।’ प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा लामो समयदेखि विवादित कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको विषयमा छलफल तथा सहमति हुने अपेक्षा गरिएको थियो ।

तर, भ्रमणपछि जारी संयुक्त वक्तव्यमा ती क्षेत्रको विवादबारे कुनै स्पष्ट धारणा वा समाधानको खाका सार्वजनिक भएको छैन । दुवै देशका परराष्ट्र सचिवलाई समस्या समाधानका लागि काम गर्न निर्देशन दिने विषय मात्रै समेटिएको छ । यससँगै नेपाल–भारत सीमा विवाद समाधानको विषय फेरि कूटनीतिक तहको छलफल र परामर्शमै सीमित भएको छ ।