काठमाडौं । नेपाली कांग्रसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति गगन थापाले शेरबहादुर देउवापक्षसँग वार्ता गर्ने भएका छन् । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असन्तुष्ट नेताहरूसँग वार्ता र छलफलका लागि सभापति गगन थापालाई जिम्मा दिने निर्णय गरेको छ ।
कार्यसम्पादन समितिले वार्ता गर्ने निर्णय गरे पनि अनुशासन समितिले भने देउवापक्षीय शीर्ष नेता पूर्वउपसभापति पूर्णबहादुर खड्कामाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अनुशासन समितिले बुधबारै खड्कालाई एकहप्ते स्पष्टीकरण सोधेको छ । कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति जारी गरेको भन्दै अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाएको हो । उता खड्काले आफूलाई स्पष्टीकरण सोध्ने निर्णय नै हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसमा चुनावअगाडि गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनदेखि नै विवाद छ । देउवा समूहले विशेष महाधिवेशन नै अस्वीकार गरे पनि चुनावमा भने विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाकै नेतृत्वमा कांग्रेस चुनावमा गएको थियो । तर, चुनावपछि कांग्रेस फेरि देउवापक्ष समानान्तर गतिविधिमा लागेपछि विवाद फेरि सुरु भएको हो ।
त्यसो त विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवापक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सो रिटमाथि निर्णय नआउँदै देउवापक्षले १५ औँ महाधिवेशनको तयारी रोक्न माग गरी अर्को निवेदन सर्वोच्च अदालतमा दायर गरेको छ ।
सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति भने असोजमा महाधिवेशन गर्ने मिति तोकेर महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय छ । यही वैशाख १ गतेबाट क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि ‘जरा अभियान’ सुरु गरिएको छ । यसअघि नै नवीकरण गरिएको सदस्यता फेरि नवीकरण गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्णयपछि देउवा समूह झन् चिढिएको छ । यही विषयमा पूर्णबहादुर खड्काले पछिल्लोपटक विज्ञप्ति जारी गरेका थिए ।
एकातिर कारवाहीको निर्णय र अर्कोतिर वार्ताको निर्णयले कांग्रेसको विवाद समाधान कसरी हुन्छ भन्ने आशंका जन्माएको छ । तर, सबैलाई समेटेर जाने निर्णयअनुसार असन्तुष्टपक्षसँग वार्ता गर्न सभापति थापालाई जिम्मेवारी दिइएको प्रवक्ता देवराज चालिसे बताउँछन् ।
बुधबार कार्यसम्पादन समितिको बैठकपछि उनले महाधिवेशनको वातावरण बनाउनको असन्तुष्टपक्षसँग संवाद गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै बैठकले अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्दै एउटै मत बनाउनका लागि संवाद गर्न पार्टीका नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता समिति समेत बनाएको बताए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ भने आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो गठन गरिएको प्रवक्ता चालिसले बताए ।
त्यस्तै बैठकले महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन समिति गठन गरिएको चालिसेले बताए । त्यसैगरी १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनका लागि बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकमा समिति समेत गठन गरेको छ ।
यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जेन जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ध्ययन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित आन्तरिक अध्ययन समितिले प्रतिवेदन बुझाएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आन्तरिक प्रतिवेदनमाथि बैठकमा छलफल सुरु भएको र जाँचबुझ आयोगको प्रतिवेदनमाथि पार्टीको धारणा बिहीबार सार्वजनिक हुने उनले बताए ।

प्रतिक्रिया