काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको प्रक्रियालाई तीव्र बनाइएको बताएका छन् । उनले ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्याको अन्त्य गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको जानकारी दिए ।
निरीक्षणका क्रममा मन्त्री डा. तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी सेवाग्राहीलाई हस्तान्तरण गर्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको बताए । सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।
उनले हाल देशभर थुप्रिएका बाँकी लाइसेन्सहरू आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको पनि बताए । “अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्ने काम आजैदेखि लागू भएको छ,” मन्त्री तिमिल्सिनाले भने ।
मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्त्वपूर्ण सम्पत्ति तथा सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विगतमा आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विभिन्न समस्या जटिल बनेको बताए ।
निरीक्षणका क्रममा उनले केन्द्रमा रहेका उपकरणहरूको प्रभावकारी उपयोग गर्न निर्देशन दिएका छन् । ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउँदै उनले करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । तीन वर्षदेखि थन्किएका मेसिनहरू हाल सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।
त्यसैगरी, मन्त्री तिमिल्सिनाले नागरिकको व्यक्तिगत डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे । सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।
यसैबीच, देशभर मोबाइल नेटवर्क तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको उनले उल्लेख गरे । नेपाल टेलिकमको सेवा गुणस्तरबारे आउने गुनासो समाधान गर्दै आगामी एक वर्षभित्र देशका सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य सरकारको रहेको मन्त्री तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया