नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिजले किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा उजुरी परेको छ ।
स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कँडेलले गृह मन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेश कुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग गर्नुभएको हो। निवेदनका अनुसार इन्दिरा सुगर मिलले उखु किसानहरूलाई झण्डै ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। पटक(पटक ताकेता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसानहरू निकै मर्कामा परेका छन्।
निवेदक कँडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गराएका छन् । सम्पर्कविहीन रहेका उद्योग सञ्चालक राकेश कुमार अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानहरूको बक्यौता रकम भुक्तानी गराउनु पर्ने र निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधैँ दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग छ ।
लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौँ किसानहरूको घरखर्च र बैंकको ब्याज तिर्न समेत समस्या भएको छ। ूकिसानको रकम नतिरी उद्योगी भाग्नु अपराध हो, यसमा सरकारले कडा कदम चाल्नुपर्छ,ू कँडेलले पत्रमा उल्लेख गर्नुभएको छ। गृह मन्त्रालयले यस विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बुझिए ।

प्रतिक्रिया