काठमाडौ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ठमेल क्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ती महिलाहरूलाई अध्यागमन विभागले देश निकाला गर्ने निर्णय गरेको हो।
प्रहरीका अनुसार युगान्डाबाट आएका २० जना महिलालाई गत चैत ११ गते ठमेल क्षेत्रबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलाहरूले ठमेल क्षेत्रमा हिँडिरहेका पुरुषहरूलाई बाटो छेकेर अश्लील प्रस्ताव राख्दै यौन गतिविधिका लागि मोलमोलाइ गर्ने गरेको खुलासा भएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका महिलाहरूलाई प्रारम्भिक रूपमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। सोही मुद्दामा जिल्ला प्रशासन कार्यालयले प्रत्येकलाई पाँच हजार पाँच सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रहरीले जनाएको छ।
अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया पूरा भएपछि उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको थियो। अध्यागमन ऐनअनुसार विभागले उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार पक्राउ परेका सबै महिला आफ्नो देश फर्किसकेका छन्।
प्रहरीले निष्कासनसँगै ती महिलाहरूलाई पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि गरिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अध्यागमनको निर्णयअनुसार उनीहरूलाई भविष्यमा नेपाल प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ।
प्रहरी अनुसन्धानले ती महिलाहरूलाई एक संगठित गिरोहमार्फत नेपाल ल्याएर ठमेल क्षेत्रमा बसोबास गराउँदै यौन धन्दामा संलग्न गराइएको निष्कर्ष निकालेको छ। यस विषयमा गिरोहसँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया