काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागसँग सम्बन्धित घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) प्रकरणमा दुई जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सोही विभागकी सहायक पथप्रदर्शक देउकला अधिकारीले ठेक्का प्रक्रियामा घुस लिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
अनुसन्धानबाट निर्माण सेवा कम्पनी तथा संयुक्त उपक्रम (जेभी) मार्फत सञ्चालन भएका करिब ६४ करोड २१ लाख रुपैयाँभन्दा बढीका ठेक्कामा श्रेष्ठ संलग्न रहेको र उनले काम सहजीकरण गरिदिने भन्दै घुस मागेको खुलेको छ । सो क्रममा देउकला अधिकारीको बैंक खातामा पटक–पटक गरी ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ जम्मा गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त रकम घुस/रिसवतबाट आर्जित भएको र त्यसलाई लुकाउन श्रेष्ठ र अधिकारीबीच मिलेमतोमा विभिन्न सम्पत्ति खरिद गरिएको पाइएको छ । उनीहरूले नुवाकोट र काठमाडौंमा घरजग्गा खरिद गर्नुका साथै करिब ९९.६८ ग्राम सुनसमेत किनेको अनुसन्धानले देखाएको छ ।
त्यस्तै, गैरकानुनी आम्दानीको स्रोत लुकाउन बैंक खातामार्फत रकम स्थानान्तरण, अन्य व्यक्तिहरू प्रयोग गरी चेक सटही तथा नगद कारोबार जस्ता क्रियाकलाप गरिएको आयोगको निष्कर्ष छ ।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत कसुर कायम गर्दै बिगो बराबर जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गरेको छ ।
प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उक्त प्रकरणमा संलग्नलाई कानुनबमोजिम कडा कारबाहीको माग गरिएको उल्लेख छ ।

प्रतिक्रिया