विपक्षी दलहरूको संयुक्त बैठक : ९ बुँदे मागसहित सरकारलाई गराए ध्यानाकर्षण

विपक्षी दलहरूको संयुक्त बैठक : ९ बुँदे मागसहित सरकारलाई गराए ध्यानाकर्षण


काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराएका छन् ।

आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान तथा वैकल्पिक आवासको व्यवस्था नगरी डोजर चलाएकोप्रति आपत्ति जनाएको छ । बैठकले सरकारको यस्तै रवैया तत्काल रोक्न माग गरेको छ ।

बैठकले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको भन्दै तत्काल महँगी र कालोबजारी नियन्त्रण गरी सुपथ मूल्यका पसल सञ्चालन गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण रासायनिक मलको थप अभाव हुन सक्ने देखिएकाले बर्खे सिजनका लागि समयमै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ ।