एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिमा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित बाटो देखाउन सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रीडम’ केही समयका लागि स्थगित गर्ने घोषणा गरेका छन् । इरानसँगको सम्झौताका लागि ‘ठूलो प्रगति’ भएको दाबी गर्दै राष्ट्रपति ट्रम्पले मंगलबार साँझ यस्तो घोषणा गरेका हुन् ।
पाकिस्तानको मध्यस्थता र अनुरोधमा यो निर्णय लिइएको बताउँदै ट्रम्पले यसलाई दुवै पक्षको ‘आपसी सहमति’ मा गरिएको स्थगनको रूपमा व्याख्या गरेका छन् । यद्यपि, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी भने कायमै रहने प्रस्ट पारिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले भने यसलाई इरानको विजयका रूपमा चित्रण गरेका छन्। विश्वकै महत्वपूर्ण तेल मार्ग खुला गर्ने प्रयासमा अमेरिका ‘लगातार असफल’ भएपछि ट्रम्प पछि हट्न बाध्य भएको इरानको आरोप छ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध सञ्चालित अमेरिकी–इजरायली सैन्य आक्रमण ‘अपरेशन एपिक फ्युरी’ ले आफ्ना उद्देश्यहरू पूरा गरेको र अब यो समाप्त भएको जानकारी दिएका थिए। अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ लाई इरानमाथिको आर्थिक नाकाबन्दी भन्दा छुट्टै र भिन्न अभियानका रूपमा अर्थ्याउँदै आएको छ।
अभियान स्थगित गर्ने निर्णयले केही द्विविधा उत्पन्न गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र जोइन्ट चिफका अध्यक्ष जनरल ड्यान केनले होर्मुज जलसन्धिमा स्वतन्त्र व्यापार र आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाइरहेकै बेला राष्ट्रपति ट्र्म्पको यस्तो घोषणा आएको हो।
विदेशमन्त्री रुबियोले अमेरिका शान्तिको पक्षमा रहेको र राष्ट्रपति ट्रम्प इरानसँग नयाँ सम्झौता गर्न इच्छुक रहेको बताएका छन् । तर, इरानले सम्झौताको बाटो नरोजेको खण्डमा भविष्य के हुन्छ भन्ने बारे अहिल्यै भन्न नसकिने उनको तर्क छ। जनरल केनका अनुसार इरानले १० पटकसम्म युद्धविराम उल्लंघन गरे पनि ती आक्रमणहरू हालका लागि पुनः पूर्ण–स्तरको लडाइँ सुरु गर्नुपर्ने तहका छैनन्।
राष्ट्रपति ट्रम्पले अर्को हप्ता चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि होर्मुज जलसन्धि पुनः सुचारु गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो जलमार्गको अवरोधले विश्व बजारमा इन्धनको मूल्य बढ्ने जोखिम अझै टरेको छैन।

प्रतिक्रिया