पश्चिम बंगाल : ममताका मन्त्री शुभेन्दुले ममतालाई नै लगाए पाखा

पश्चिम बंगाल : ममताका मन्त्री शुभेन्दुले ममतालाई नै लगाए पाखा


काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) को सरकार बनको छ । हालै भएको चुनावमा भाजपाले २९३ सिटमध्ये २०२ सिट, करिब दुईतिहाइ बहुमतको जित हात पारेको थियो ।

भारतीय इतिहासमा पश्चिम बंगालमा भाजपाले पहिलोपटक सरकार बनाएको हो । भाजपाका नेता शुभेन्दु अधिकारीले शनिबार मुख्यमन्त्रीको शपथग्रहण गरेका छन् । उनलाई शुक्रबारै भाजपाले मुख्यमन्त्री बनाउने घोषणा गरेको थियो । त्यसपछि भाजपाले राज्यपालसामु सरकार बनाउने दाबी पेस गरेको थियो ।

तृणमुल कांग्रेसको १५ वर्षे सत्ता ढालेर भाजपा सत्तामा आएको हो । भाजपालाई बहुमत दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका शुभेन्दु भाजपाका कोर नेता होइनन् । उनी २०२१ को चुनावअघि मात्र भाजपा प्रवेश गरेका थिए ।

शुभेन्दु तृणमुल कांग्रेस नेतृ ममता बेनर्जीको सरकारमा मन्त्रीसमेत थिए । उनी ममतापछि तृणमुलमा दोस्रो नेता मानिन्थे । तर, २०२१ मा उनले तृणमुल छोडे । पुरानो पार्टी छोडेको पाँच वर्षमै शुभेन्दु मुख्यमन्त्री बनेका छन्, त्यो पनि आफ्नो पूर्ववर्ती नेतृत्वलाई विस्थापित गरेर । योपटकको विधानसभा चुनावमा शुभेन्दुले निवर्तमान मुख्यमन्त्री ममतलाई भवानीपुर सिटमा पराजितसमेत गरिदिएका थिए ।

ममत पश्चिम बंगालमा लगातार तीन कार्यकाल २०११ देखि २०२६ सम्म मुख्यमन्त्री रहिन् । उनले कम्युनिस्टको ३० वर्षे शासन ढालेर आफूलाई सत्तामा उभ्याएकी थिइन् । अहिले शुभेन्दुले ममतको १५ वर्षे सत्ता ढालेर आफूलाई नेतृत्वमा ल्याएका छन् । शुभेन्दु भाजपा प्रवेश गर्नुअघि ममतको सरकारमा मन्त्रीसमेत थिए ।