इलाम । पूर्वी पहाडको महत्त्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्गअन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन ।
निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहे पनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् ।
राजमार्गअन्तर्गत विशेष गरी इलाम गोलाखर्क भञ्ज्याङदेखि माइखोला राजदुवालीसम्मको करिब तीन किलोमिटर क्षेत्र अत्यन्त जोखिमपूर्ण छ ।
सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने, सडक भासिने र हिलो जम्ने समस्या दोहोरिने गरेको छ । कतिपय स्थानमा सडक साँघुरिँदै गएर एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउने गरेको छ भने कतिपयबेला पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।
दैनिक सयौं सवारी साधन सञ्चालन हुने यस खण्डमा जाम लाग्नु सामान्य जस्तै बनिसकेको छ । बिरामी बोकेका एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गाडीहरू घण्टौंसम्म रोकिन बाध्य हुने गरेका छन् ।
यात्रुहरू जोखिम मोलेर पैदल हिँड्नुपर्ने अवस्था समेत पटक–पटक आउने गरेको छ । हाल उक्त खण्डमा जे एण्ड जे निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेको भएपनि काम गर्न समेत कठिनाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ ।
इलामका यातायात व्यवसायी सुमन काफ्लेले सडकको दयनीय अवस्थाले सवारी चालकहरू पनि जोखिमपूर्ण यात्राका कारण मानसिक तनावमा रहने बताएका छन् भने सडकको अवस्थाले यातायातका साधनहरुमा समेत समस्या हुने बताउँछन् ।
हाल सडक डिभिजन कार्यालय इलामले ठेक्का लागाएर काम गरिरहेको छ । कार्यालयका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडक सञ्चालनमा ल्याउन दिनहुँ काम भइरहेको तर भौगोलिक जटिलता र निरन्तर पहिरोका कारण समस्या जटिल बनिरहेको बताए ।
प्राविधिकहरूले यो क्षेत्र भू–स्खलनको दृष्टिले अत्यन्त संवेदनशील रहेको बताएका छन् । कमजोर भौगोलिक संरचना, पानीको उचित निकास नहुनु र विगतमा गरिएको अस्थायी कटानका कारण समस्या झन् बढ्दै गएको विश्लेषण गरिएको छ ।
दीर्घकालीन समाधानका लागि रिटेनिङ वाल निर्माण, जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग, ढल व्यवस्थापन, र आवश्यक परे वैकल्पिक मार्ग निर्माण जस्ता उपाय आवश्यक देखिएको छ ।
सांसद निश्कल राईले भने यस समस्यालाई केन्द्र सरकारसम्म पुर्याइएको र आवश्यक बजेट व्यवस्थापनका लागि पहल भइरहेको बताए । इलाम क्षेत्रका संघीय सांसद तथा प्रदेशस्तरीय नेताहरूले समेत यस खण्डको समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताए ।
अर्का सांसद सुहाङ नेम्बाङले पनि उक्त सडक खण्डको समस्या चाँडो समाधान गर्न पहल गरिरहेको बताउने गरेका छन् । तर, विगतका अनुभवका आधारमा स्थानीयवासीहरू यस्ता आश्वासनप्रति आश्वस्त देखिँदैनन् । उनीहरूले सम्बन्धित निकायलाई दीर्घकालीन योजना बनाएर छिटो कार्यान्वयन गर्न माग गरेका छन् ।
मेची राजमाग कोशी प्रदेशका पहाडी जिल्ला ताप्लेजुङ पाँचथर,तेह्रथुम र इलामलाई झापालगायत तराई क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो ।
यस मार्ग अवरुद्ध हुँदा यात्रु मात्र होइन, कृषि उत्पादन, दैनिक उपभोग्य वस्तु आपूर्ति र पर्यटन गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने गर्दछ । विशेषगरी चिया, अलैंची लगायतका उत्पादन ढुवानीमा समस्या हुँदा किसानहरू प्रभावित हुने गरेका छन् ।
वर्षायाम सुरु भएसँगै जोखिम अझ बढ्ने देखिएको छ । माइखोला–राजदुवाली सडक खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेपनि दिगो समाधान हुन सकेको छैन ।
दीर्घकालीन सोच, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनबिना यो समस्या कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । यात्रु र स्थानीयवासीहरू भने सुरक्षित, भरपर्दो र सहज यात्राको प्रतीक्षामा छन् । – नेपाल न्युज बैंकबाट

प्रतिक्रिया