इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै कडा सर्तसहित प्रतिक्रिया पठायो

इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै कडा सर्तसहित प्रतिक्रिया पठायो


एजेन्सी । इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ ।

इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प्रस्तावको जवाफस्वरूप पठाएको हो । यसअघि इरानले अमेरिकी योजनाबारे विस्तृत समीक्षा गरी अन्तिम निष्कर्षपछि मात्रै आफ्नो धारणा पठाउने बताएको थियो ।

इरानी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको पोस्टमा इरानले पठाएको प्रस्तावले इरानी राष्ट्रका मौलिक अधिकारलाई स्पष्ट रूपमा समेटेको उल्लेख गरेको छ । साथै, अमेरिकाको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै तेहरानले अस्वीकार गरेको जनाएको छ ।

इरानले आफ्नो प्रस्तावमा अमेरिका र पश्चिमी देशहरूसँग सम्बन्धित केही कडा सर्तहरू पनि समावेश गरेको छ । ती सर्तहरूमा इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने, जफत गरिएका इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने, खाडी क्षेत्रमा रहेको अमेरिकी सेनाको उपस्थिति अन्त्य गर्नुपर्ने, क्षेत्रीय तनाव तथा युद्ध रोक्नुपर्ने र होर्मुज जलडमरूमाथि इरानको सार्वभौमिकता स्वीकार गर्नुपर्ने माग समावेश छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको प्रतिक्रिया ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत इरानको जवाफप्रति असन्तुष्टि जनाउँदै कडा आलोचना गरेका छन् ।

यो कूटनीतिक आदान–प्रदानसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावलाई घटाउने प्रयासहरू जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।