सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा


सुर्खेत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसले सोमबार सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुईतिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरूलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए ।

नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।

‘चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा कांग्रेस सकिदैन । लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन ।’ सरकारका गतिविधीहरू लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औँल्याए ।

पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरूसँग छलफल भइरहेको उपसभापति शर्माले बताए ।

पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध कांग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए । पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरूलाई पार्टीले सम्मान गर्ने उनको भनाइ छ ।