काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला ले पार्टीभित्र बिना परामर्श गरिएको केन्द्रीय कार्यसमिति विस्तारले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।
केन्द्रीय समिति विस्तारपछि आफ्नो धारणा सार्वजनिक गर्दै नेता कोइरालाले कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता भएको उल्लेख गरेका छन् । उनले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर साझा भावना र सामूहिक सोचका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै विभाजित कांग्रेसले आम नागरिकको भरोसा र विश्वास गुमाएको स्मरण गराए । आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनताको विश्वास जित्न नसके कांग्रेसको राष्ट्रिय राजनीतिक औचित्यमाथि नै प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।
कोइरालाले कांग्रेससँग आबद्ध युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्न भावनात्मक एकता र नागरिकमैत्री पार्टी निर्माण आवश्यक रहेको बताएका छन् । संविधानवाद र लोकतन्त्रविरुद्ध पपुलिज्मका नाममा आक्रमण भइरहेका बेला पनि कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद रहेको उनको टिप्पणी छ ।
उनले वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टी एकतामा असर पुगेको दाबी गरेका छन् । साथै, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औँ महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

प्रतिक्रिया