काठमाडौं । प्रतिनिधिसभा सदस्य पार्वती विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी नभएको टिप्पणी गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सदनमा हुने व्यवहारले भावी पुस्तामा गलत सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।
उनले भनिन्, ‘मलाई डर लागिरहेको छ, यो गरिमामय सदनमा एकले अर्कोलाई सक्काउन सहयोग त गरौँला र सक्कौँला । तर, हाम्रा सन्ततीले के सिक्लान् भन्ने डर छ । सरकारले नीति तथा कार्यक्रम टेबल गर्यो, छोटो समयमा धेरै मेहनत गरेर ल्याएको बुझिन्छ, प्रयासका लागि सरकारलाई धन्यवाद ।’
उनले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भएपनि धेरै वर्ग र क्षेत्रका मुद्दा समेटिन नसकेको बताइन् । ‘नीति कार्यक्रमलाई हेर्दा डिजिटलमैत्री शासनलाई ध्यान दिन खोजिएको छ । सुशासनमा बढी जोड दिइएको छ । तर ३० प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको बारेमा बोलेको छैन,’ उनले भनिन् ।
विकले सरकारले राष्ट्रिय गौरवका आयोजना बन्द गर्ने संकेत गरेको जस्तो देखिएको पनि टिप्पणी गरिन् । साथै दलित महिला, मधेशी महिला, अल्पसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाका विषय नीति कार्यक्रममा नसमेटिएको आरोप लगाइन् ।
उनले बालबालिकाका विषयमा सामान्य रूपमा उल्लेख भए पनि गरिबीको रेखामुनि रहेका बालबालिका, अनाथालयमा रहेका बालबालिका तथा सुधारगृहमा रहेका बालबालिकाको विषयमा स्पष्ट कार्यक्रम नदेखिएको बताइन् । दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिम का लागि पनि विशेष कार्यक्रम नरहेको उनको भनाइ थियो ।
‘यो नीति तथा कार्यक्रमले दलित महिला, मधेशी महिला, अल्पहसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाको विषयमा बोलेको देखिदैन । बालबालिको बारेमा बोलेको छ, तर गरिबीको रेखामुनि हुर्केका बालबालिका, अनाथलयमा रहेका बालबालिका र सुधारगृहमा रहेका बालबालिकाको विषयमा बोलेको देखिदैन । दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिमका लागि विशेष कार्यक्रम केही छैन,’ उनले भनिन् ।

प्रतिक्रिया