काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने घोषणा गरेका थिए। उनले इतिहासमै पहिलोपटक क्यानको महानिर्देशक प्रतिस्पर्धाबाट चयन गर्न लागिएको दाबी गर्दै अब “मन्त्रीको खल्तीबाट टपक्क झिकेर” नियुक्ति गर्ने दिन गएको बताएका थिए।
मन्त्रालयले एक साताको समय दिएर आवेदन माग गरेपछि क्यानको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका थिए। आवेदन दिएका उम्मेदवारहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रिया सम्पन्न भइसकेको भए पनि नतिजा सार्वजनिक हुन सकेको छैन। यसले नियुक्ति प्रक्रियामा चलखेल हुनसक्ने आशंका बढाएको छ।
क्यानको डिजी पदका लागि प्रभाकर चन्द मल्लिक, उसवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल, जसोदा सुवेदी रेग्मी, लवराज जोशी, जगन्नाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजयकुमारले प्रतिस्पर्धा गरेका छन्।
सबै प्रक्रिया पूरा भइसकेपछि पनि नतिजा सार्वजनिक नगर्दा विभिन्न आशंका उब्जिन थालेका छन्। मन्त्री पौडेलले सार्वजनिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियुक्ति प्रक्रिया पारदर्शी बनाउन प्राप्ताङ्कसहितको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ।
क्यानको डिजी नियुक्तिमा भइरहेको ढिलाइले नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको भन्दै सरोकारवालाहरूले पारदर्शिता कायम गर्न आग्रह गरेका छन्। क्यानको महानिर्देशक र नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्यसमेत खुला प्रतिस्पर्धा र निष्पक्ष ढंगले नियुक्त गर्ने मन्त्री पौडेलको घोषणालाई व्यवहारमा प्रमाणित गर्न सबै प्रतिस्पर्धीहरूको नम्बर सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ।
प्राप्ताङ्कसहितको नतिजा सार्वजनिक गरिए नियुक्ति प्रक्रियाप्रति विश्वसनीयता बढ्नुका साथै चलखेलको आशंका स्वतः अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया